१२ श्रावण २०८१, शनिबार | July 27, 2024

वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र वैधानिक दायरामा ल्याउन प्रधानमन्त्री दाहालको निर्देशन



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहालले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्यांक र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन्। 

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारी, परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, परराष्ट्र निमित्त सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशकलगायतको सहभागिता रहेको छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले देशबाट रोजगारीकालागि विदेश गएका नागरिकका समस्या पूर्ण रूपमा समाधानमा गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्यांकको कमी रहेको बताउँदै उनले अध्ययन, अनुसन्धानका लागि ती विवरण तत्काल संकलन गर्न निर्देशन दिए ।

आजको छलफलबाट श्रम आप्रवासनको यथार्थ विवरण संकलन गर्न मुख्यसचिवको नेतृत्वमा अर्थ, श्रम, परराष्ट्रलगायतका सचिव सदस्य रहेको कार्यदललाई पाँच दिनभित्र कार्ययोजनाको मस्यौदा तयार गरी पेस गर्ने समय दिइएको छ । यसैका आधारमा सबै दूतावासमा लेखी पठाउने, सरकारलाई आवश्यक तथ्यांक र सूचनाका सम्बन्धमा सबै नेपाली राजदूतावासबाट सुझाव माग्ने निर्णय गरिएको छ । दूतावासबाट अध्ययन भइसकेपछि यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म विदेशमा रहेका सबै नेपालका राजदूत र नेपालका अन्य सरोकारवाला निकायको सहभागितामा बृहत् कार्यशाला राख्ने, रणनीति र योजना बनाउने अनि कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

ताजा समाचार