१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक अपडेट: डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालियो, तिहार अगाडी सक्ने योजना



पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत हाल केहि स्थानहरुमा एक तर्फी कालो पत्रेको काम सकिसकेको छ भने केहि स्थानहरुमा धमाधम कालोपत्रे हुँदै छ। त्यसै क्रममा तनहुँको डुम्रे–छिर्कने खण्डमा पनि कालोपत्र थालिएको छ।
मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो।  तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको छ भने तिहारपछि नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ। सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ।
यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो। आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा पनि काम तीव्र गतिमा अगाडि बढेको छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ। यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ। राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यस खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ। यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।
पश्चिम खण्डअन्तर्गत जामुने देखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। पश्चिम खण्डको काम भने सुस्त छ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

सडक विस्तारले के फाइदा हुन्छ ?
यो सडकमा हाल दैनिक झन्डै आठ हजार हाराहारीमा सवारी गुड्ने गरेका छन् र यो सडक नेपालको पर्यटकीय नगरी पोखरालाई देशको राजधानी र पुर्व पश्चिम राजमार्ग सम्म जोड्ने मार्ग भएकोले पनि यहाँ सवारी चाप र चहलपहल धेरै हुने गर्छ ।

सडक ४ लेनको भएपछि नेपालका आन्तरिक पर्यटक, सडक मार्ग हुँदै आउने अन्य बाह्य पर्यटक तथा भारतबाट सडकमार्ग हुँदै आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ र पर्यटकको आगमनमा पनि उल्लेख्य बृद्दी हुने बिश्वाश गरिएको छ। को सडकखण्डको विस्तारपछि पोखराको महत्व झनै बढ्ने अपेक्षा गरिएको छ ।
साथै पोखरामा संचालनमा आएको अन्तर्राष्ट्रय विमानस्थलको लागि पनि यो सडक खण्ड सहयोगी हुने अपेक्षा गरिएको छ।  यसले देशको यातायात सञ्जाल थप मजबुत र स्तरीय बन्ने छ ।
यो सडक विस्तारपछि पोखरा र आसपासका क्षत्रको मात्र नभएर पुरै देशको आर्थिक गतिविधि पनि बढ्ने दाबी गरिएको छ । सडकको ट्राफिक क्षमता बढ्ने मात्रै नभई विश्वसनीय र सुरिक्षत सडकबाट पोखरालाई पुरै देश संग जोड्ने छ। ‘राजमार्ग चार लेनमा विस्तार हुँदा यात्राको समय र लागत घट्नेछ नै ।

ताजा समाचार