१३ चैत्र २०८१, बिहीबार | March 27, 2025

‘अनन्त’ भारतमा गुगलको भव्य कार्यालय


Google New Office in India

गुगलले आफ्नो सबैभन्दा ठूलो कार्यालय ‘अनन्त’ भारतमा स्थापना गरेको छ । गत साता बुधबार बेंगलुरुस्थित महादेवपुरमा उद्घाटन गरिएको यो ‘अफिस क्याम्पस’ वा कार्यालयको नाम ‘अनन्त’ राखिएको छ । गुगलको भारतमा यो चौथो कार्यालय हो । यहाँबाट गुगल सर्च, म्याप्स, एआई, एन्ड्रोइड, गुगल पे, क्लाउड लगायत विभिन्न एप्पलिकेसनका लागि कार्य हुने कम्पनीले जनाएको छ ।

१६ लाख वर्ग फिट क्षेत्रफलमा फैलिएको यो कार्यालय बग्माने टेक पार्कले ११ महिना लगाएर निर्माण गरेको हो । यस कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी अट्ने बताइएको छ । भारतभर करिब ११ हजार कर्मचारी कार्यरत रहेको गुगलका लागि यो नयाँ कार्यालय थप महत्त्वपूर्ण हुने अनुमान गरिएको छ ।

करिब ५ हजार कर्मचारी अट्ने अनन्त कार्यालयमा कर्मचारीका लागि अत्याधुनिक प्रविधि, आरामदायी कार्यस्थल, जिमखानासहित स्वास्थ्य र मनोरन्जनका सुविधा समावेश छन् । गुगलले भारतमा आफ्नो उपस्थिति सुदृढ गर्दै ११ हजारभन्दा बढी धेरैलाई रोजगार दिएको ‘द हिन्दु’ले जनाएको छ ।

भारतका दक्ष जनशक्ति र तीव्र आर्थिक वृद्धिलाई मध्यनजगर गर्दै गुगलले त्यहाँ आफ्नो सबैभन्दा ठूलो कार्यालय स्थापना गरेको विश्लेषण भइरहेको छ । पछिल्लो समय भारत विश्वको सबैभन्दा ठूलो डिजिटल उपभोक्ता बजारमध्ये एक हो । यहाँका प्रविधि-प्रेमी जनसंख्या, दक्ष जनशक्ति र स्टार्टअप इकोसिस्टमले गुगलसहित विश्वका ठूला टेक कम्पनीलाई आफ्नो ग्लोबल विस्तारको केन्द्र बनाएको छ ।

गुगल इन्डियाकी उपाध्यक्ष प्रीति लोबानाले ‘अनन्त’ कार्यालयको उद्घाटन गुगलको भारतप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताइन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई व्यवसाय र आम मानिससम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिइन् । साथै, भारतीय अनुसन्धानकर्ता र स्टार्टअपसँग सहकार्य गर्दै कृषि, स्वास्थ्य तथा वित्तीय क्षेत्रमा प्रविधि विकास गर्ने योजना रहेको पनि उनले उल्लेख गरिन् ।

ताजा समाचार