![अन्तर्राष्ट्रिय बेलुन महोत्सव](https://byaparhubnepal.com/wp-content/uploads/2024/12/Baloon-Nepal.jpg)
पर्यटकीय राजधानी पोखरामा यहि पौष ९ गतेबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । केहि बर्ष देखि सुस्त रहेको पर्यटन क्षेत्रलाई पुनः उर्जा भर्ने विश्वासकासाथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक अंग्रेजी नयाँ बर्ष र क्रिश्मसको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।
विदेशी पाइलटले ल्याएका १५ र बेलुन नेपालका दुई गरी १७ हट एयर बेलुन ९ दिनसम्म पोखराको आकाशमा उड्ने छन् । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, कोरिया, नेदरल्यान्ड्स, जापान, मलेसिया, इटाली, ब्राजिल, अस्ट्रेलियासहित १५ देशका बेलुन पाइलटहरूको सहभागिता छ ।
पुस १७ सम्म चल्ने महोत्सव पोखरा–२४ को लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रमा आयोजना गरिएको छ । महोत्सव अवधिभर हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा हट एयर बेलुन सञ्चालनमा आउनेछ । नियमित उडानका बेला ९ हजार फिट माथिसम्म पुग्ने भए पनि महोत्सव अवधिभर भने ५ हजार फिटसम्म मात्रै पुग्नेछ । उडान समय ३० देखि ४० मिनटको हुन्छ । उडान अवधिमा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पोखरा उपत्यका, फेवाताल, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।
महोत्सव अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजे देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान भर्ने छन् । बेलुका ७ बजेदेखि ८ बजेसम्म ‘बेलुन नाइट ग्लो’ गरिनेछ । महोत्सव स्थलसम्म जान आउनका लागि डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था गरिएको छ ।
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुनेछन् । महोत्सवमा मंगलबार कलाकार दीपक बज्राचार्य र कार्टुन क्रुजको प्रस्तुति रहेको थियो । त्यस्तै महोत्सवमा राजु लामा, शर्मिला बर्देवा, एलिना चौहान, कुमा सागर, कविता नेपाली लगायतले सांगीतिक प्रस्तुति दिनेछन् । त्यस्तै अन्य स्थानीय कलाकार र ब्यान्डको सांगीतिक प्रस्तुति पनि महोत्सवमा रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सबको अन्तिम दिन राति आतिसबाजी र बेलुनमै डीजे संगीत पनि प्रस्तुत गरिनेछ । महोत्सवमा विभिन्न खानाका परिकारसहितका स्टलहरू पनि रहेकाछन् ।