अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन् । चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी कम्पनीहरु गाभिन लागेका हुन् । मर्जर प्रक्रियामा यी कम्पनीका प्रतिनिधिहरुले सोमबार हस्ताक्षर गरेका छन् ।
यी दुवै कम्पनी सन् २०२६ सम्म मर्ज हुने भएका छन् । गएको सोमबार दुवै कम्पनीले मर्जरसम्बन्धी प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । मर्जरको अन्तिम सम्झौता सन् २०२५ को जुनसम्म भइसक्ने बताइएको छ । होन्डा र निसान मर्ज भएसँगै टोयोटा र फक्सवागनपछि विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता कम्पनी बन्ने छ । अटो उद्योगको बदलिँदो बजार र चिनियाँ ठुला कम्पनिहरुको प्रवेश संगै जापानको अटो उद्योग दबाबमा परेपछि उनीहरूले मर्जर सम्झौता अघि सारेको स्वीकारेका छन् ।
यो मर्जरमा सानो अटो निर्माता मित्सुबिशी मोटर्स पनि सहभागी हुने अपेक्षा गरिएको छ । मित्सुबिशीको सबैभन्दा बढी सेयर निसानसँगै छ । यी तीनवटै कम्पनीका प्रमुख कार्यकारीले सोमबार नै टोकियोमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । निसान मोटर कर्पोरेसनका सीईओ माकोटो उचिडा, होन्डाका निर्देशक तोशिहिरो मिबे र मित्सुबिशीका सीईओ ताकाओ काटो सम्मेलनमा उपस्थित थिए ।