१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा चिनियाँ पर्यटकको चार्टर बिमान दोस्रो पटक ल्याण्ड हुँदै



पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगितामा सय बढी चिनियाँ खेलाडी तथा पर्यटक चार्टर उडानबाट पोखरा आउने भएका छन् । यस्तो प्रतियोगिता पोखरामा दोश्रो पटक हुन लागेको हो। सन २०१९ मा पहिलो संस्करण भए पछि कोभिडका कारण अहिले मात्र दोश्रो संस्करणको आयोजना गरिएको हो।

‘पोखरामा हुन लागेको दोस्रो संस्करण अर्न्तगतको अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगितामा भाग लिन चीनका विभिन्न सहरबाट १ सय १० हाराहारी खेलाडी हिमालय एयरलायन्सको जहाजबाट सिधै पोखरा आउँने जनाइएको छ। यो कार्यक्रमले नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर हुने बिश्वाश रहेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार शनिबार पोखरामा हुने कार्यक्रममा नेपालतर्फका १० र चिनकोतर्फका १० वटा टोलीबिच दौड, साइकल र डुंगा प्रतियोगिता हुनेछ । प्रतियोगितामा धावकहरूले दौड, साइकल र फेवातालमा डुंगाबाट गरी ४० किलोमिटरको यात्रा पुरा गर्नुपर्ने छ । पोखराको बराहीघाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा डुंगा सयर गरी बराहीघाटमा समापन हुने छ ।

नेपाल र चीनका खेलाडीबिच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता अर्न्तगत ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थर्कीा लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि हुने भएको छ ।

नेपाली र चिनियाँ धावकबिच हुने प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौ हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसअघि असार ८ र ९ गते पोखरामा चिनियाँ ड्रागन बोट रेस प्रतियोगिता आयोजना गरिएको थियो । त्यसताका पहिलोपटक पोखरा विमानस्थलमा चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा पुगेका थिए ।

ताजा समाचार