१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन लक्ष्यभन्दा न्यून



चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको छ। आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरण अनुसार साउनमा लक्ष्यको ८२.३३ प्रतिशतमात्रै राजस्व संकलन भएको छ। चालु आर्थिक बर्षको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै संकलन भएको विभागले जनाएको छ। यस महिनामा आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर संकलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजारबराबर मात्रै संकलन भएको छ। आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२.४३ प्रतिशत मात्र हो।

मूल्य अभिवृद्धि कर पनि मासिक लक्ष्यको ८१.९७ प्रतिशत मात्रै उठेको छ। साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार बराबर भ्याट संकलन गर्ने लक्ष्य राखिएको थियो, तर ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार मात्रै उठेको देखिएको हो। 

अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा ७ अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ। जुन लक्ष्यको ७२.६१ प्रतिशत मात्र हुन आउँछ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ। घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् २२ करोड २० लाख ६ हजार र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजार उठेको छ। शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ। साउनका लागि यो शीर्षकमा २० करोड ४५ लाख १ हजारबराबर कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार बराबर उठेको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको राजश्वको तुलनामा भने बढी हो। गत आर्थिक वर्ष साउनमा सरकारले ३९ अर्ब ८६ करोड ३४ लाख बराबर आन्तरिक राजस्व उठाएको थियो।

ताजा समाचार