१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मर्ज भएका बैंकहरूकै निष्कृय कर्जा दर धेरै, मर्जरको नीति माथि नै प्रश्न चिन्ह!



नेपालमा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.६९ प्रतिशत पुगेको छ । केन्द्रीय बैंक (नेपाल रास्ट्र बैंक) ले बैंक तथा वित्तीय संस्था मजबुत बनाउने भनेर मर्जरको नीति लिएको थियो। तर हालको अवस्था हेर्दा मर्ज भएका बैंकहरुको अवस्थानै झन नाजूक देखिएको छ ।

रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ । तर मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिकमात्रामा बढेको देख्न सकिन्छ । सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको रहेको छ । अघिल्लो वर्षको असारसम्म १.११ प्रतिशत रहेको यो दर अहिले बढेर ४.७७ प्रतिशत पुगेको छ जुन ३२९ प्रतिशतको वृद्धि हो । कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार भएको हो। दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ । यसको उक्त दर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.५९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।

त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । रिपोर्ट हेर्दा मर्ज भएका बैंकहरुको नाम यो सूचीको शीर्ष स्थानमा रहेको हुँदा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था मजबुत बनाउने भनेर लिएको मर्जरको नीति माथि नै प्रश्न चिन्ह खडा भएको छ। 

ताजा समाचार