
चार वर्षको अन्तरालमा आयोजना गरिएको १५ औं संस्करणको नाडा अटो सो सम्पन्न भएको छ । भदौ २६ मा सुरु भएर ३१ मा सकिएको अटो सो’मा ७६ हजार १ सय जनाले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । आर्थिक मन्दीको समयमा पनि आगन्तुकको उत्साहनजक उपस्थिति भएको आयोजकको भनाइ छ ।
मेलामा आउने दर्शकको बढी ध्यान विद्युतीय सवारी र दुईपांग्रे सवारीमा देखिएको नाडाले बताएको छ । अटो सोमा विभिन्न ४५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका थिए । चाडबाड नजिकिँदै गर्दा आयोजना गरिने अटो सोले अर्थतन्त्रलाई चलायमान बनाउने व्यवसायीहरूको भनाइ छ ।
टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो सो २०८० को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । अटो सोमा वित्तीय संस्था, सवारीसाधन, ब्याट्री, टायर, लुब्रिकेन्टलगायतका १२० वटा स्टल थिए । १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल थिए ।