१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाली बजारमा बहुप्रतिक्षित हट केक “टियागो इभीको” बुकिङ सुरू



टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टाटा टियागो इभी यहि मंगलबारबाट सुरू हुन गइरहेको १५औं ‘नाडा अटो शो २०२३’ मा विशेष कार्यक्रम बीच आकर्षक सुरुवाती मूल्य सहित सार्वजनिक गर्ने जानकारी दिइएको छ। 

तर ग्राहकहरूले भने आजै देखि मोबाइल वा कम्प्युटरबाट टाटा मोटर्सको वेबसाइटमा गई नाम दर्ता गराएर अथवा नेपालभर रहेको टाटा मोटर्सका जुनसुकै सोरुमहरूमा गएर बुकिङ गर्न सक्नेछन। ग्राहकहरूले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटो शोमा टाटा मोटर्सको स्टलमा अथवा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स सोरुम जान सक्नेछन्।

हाल सम्म नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ। टाटा टियागो इभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको इभी हो। जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा रहेको कम्पनीको भनाइ छ। नेपाली ग्राहकहरूको बदलिदो आकांक्षा एवम् जीवनशैलीसँग मेल खाने यस गाडीले विशेष गरी युवावर्गहरूमा थप उत्साह र इभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा छ।

सिप्रदीले सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा ल्याउने भएको हो। टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध हुनेछ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र ११४ एनएम टर्क उत्पादन गर्छ। बीएचपीले गाडीको एक्सिलेरेसन र टप स्पिड निर्धारण गर्छ। बीएचपी भनेको इन्जिनको शक्ति हो। टर्कले गाडीको टर्निङ फोर्स कति छ भनेर निर्धारण गर्छ।

यस्तै, मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा भएको ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र ११० एनएम टर्क उत्पादन गर्न सक्छ।

यो गाडी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ। टियागो भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय कार हो। त्यसैले नेपालमा पनि यो गाडीको मूल्य ३० लाख रुपैयाँ भन्दा तल निर्धारण हुने अनुमान गरिएको छ।

यसमा स्पोर्ट मोडल पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ। कम्पनीले अहिलेसम्म मूल्य भने तोकेको छैन।

ताजा समाचार