१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लेकसाइड २४ सै घन्टा खोल्न उच्च अदालतको आदेश, प्रशासन भन्छ: अहिलेकै अवस्थामा कठिन छ



पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४ सै घन्टा व्यापार व्यवसाय खुला गर्ने बातावरण मिलाउन उच्च अदालत पोखराले आदेश गरेको छ। देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले आज बुधबार उक्त आदेश गरेको हो। कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको छ । तर, त्यो कार्ययोजना कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर मंगलबार देवीकुमारी बरालले रिट हालेकी थिइन् ।
लामो समय देखि बिभिन्न समयमा धेरै मन्त्री र नेताहरुले पोखराको पर्यटकीय क्षेत्र लेकसाइड चौबिसै घण्टा खोल्ने वातावरण बनाउने आश्वासन दिँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गण्डकीका अहिलेसम्मका सबै मुख्यमन्त्रीले लेकसाइड चौबिसै घण्टा खोल्ने आश्वासन दिएका थिए ।
यसअघि गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले त लेकसाइडमा भएको कार्यक्रमबाटै प्रहरी प्रमुखलाई फोन गरेर तत्काल लेकसाइड २४ सै घण्टा खोल्ने प्रवन्ध मिलाउन निर्देशनै दिएका थिए । त्यस्तै पोखराका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रममै पोखरालाई २४ घण्टा खुला राख्ने बताएका छन् । पर्यटन व्यवसायीहरुले पनि सुरक्षा प्रवन्ध मिलाएर पोखरालाई चौबिसै घण्टा खुला राख्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
तर प्रहरी र जिल्ला प्रशासन कार्यालय भने सुरक्षा चुनौती रहेको भन्दै अहिलेकै अवस्थामा लेकसाइड क्षेत्रलाई चौबिसै घण्टा खोल्न कठिन रहेको बताउँछन्। 

ताजा समाचार