४ भाद्र २०८३, बिहीबार | August 20, 2026

चर्चित राइड सेयरिङ् एप “इनड्राइभ”को नेपाल यात्रा



नेपालका ठुला सहरहरूमा ट्याक्सीहरूको मनोमानीबाट आजित भएका जनता बीच एकाएक ‘राइड सेयर’ एपहरू चर्चित भए सँगै नेपालमा विभिन्न एपहरू चर्चामा आए। त्यस्तै एपहरु मध्ये पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय बनेको छ ‘इनड्राइभ’। इनड्राइभले राइड सेयर कम्पनीहरुको भीडमा लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुका लागि सस्तो भाडा र चालकका लागि कुनै ‘कमिसन’ नभएका कारण यो लोकप्रिय बन्दै गएको यात्रु र चालकहरु बताउँछन्। 

एसिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाण्डौमा छन्। नेपाली सञ्चारमाध्यमसँगको अन्तर्क्रियामा उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका छन्।इर्मोसिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए। ‘हामी अनुसन्धान र विकास गतिविधिमार्फत नयाँ बजारहरु परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौँ’, उनले भने, ‘नेपालमा हामीले कुनै शुल्क वा कमिसन नलिई नागरिकलाई ‘इनड्राइभ’ एप प्रदान गर्दैछौँ। यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवाहरु सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गर्दछ।’

हाल इन्ड्राइभ संसारमा सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप मध्ये दोश्रो एप हो र यसले पाँच महादेशका ४८ देशका ७०० भन्दा बढी सहरमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्तालाई निरन्तर सेवा दिइरहेको छ।

ताजा समाचार