१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्वकै पहिलो कृषि सम्बन्धि रियालिटि शो ‘रेभुलुसनरी एग्रिकल्चर वार’ नेपालमा हुँदै



विश्वकै पहिलो कृषि सम्बन्धि रियालिटि शो ‘रेभुलुसनरी एग्रिकल्चर वार’ (रअ) नेपालमा हुने भएको छ । कृषि, उद्दमशिलतालाई मुख्य आधारशिला बनाएको कार्यक्रमको हिजो राजधानीमा एक कार्यक्रम बीच घोषणा गरिएको हो । इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो’मा एग्रिकल्चर र इन्टरटेनमेण्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेण्टको परिकल्पना गरिएको छ । उक्त कार्यक्रमले महानायक राजेश हमाललाई मास्टर होस्टको रुपमा प्रस्तुत गरेको छ। 

उक्त शो’मा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रुपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले वि. एस. सि. एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ । कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रुपमा डा. योगेन्द्र कुमार कार्की र डा. नम्रता पाण्डेलाई प्रस्तुत गराएको छ ।

कार्यक्रममा बोल्दै मास्टर होस्ट राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषि सँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए । ‘तीन दशक लामो अभिनय यात्रामा कयौंपटक किसानको भूमिकामा देखिएको थिएँ अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा अत्यन्त खुशी छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ। युवाहरुको यो सोचलाई मास्टर होस्टको रुपमा आफुले नेतृत्व गर्न पाउँदा अद्भुत अनुभूति भएको छ ।’

यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफु दृढ रहेको हमालले बताए । 

घोषणा कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, किसान समुह,  प्राध्यापक, व्यापारिक संघसंस्था, पत्रकार, विध्यार्थी लगायतको उपश्थिति थियो । कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले कृषि र प्राथमिक उत्पादनको क्षेत्रमा बढेको निराशामा यस रियालिटि शो ले कमि ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कृषिका विविध आयामहरु कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मुल्य श्रृंखला, आदि विषयमा रहेर प्रतिस्पर्धा हुने यो शोको लक्ष्य सकारात्मक मानसिकता विकास गरी सुखी र समृद्ध राष्ट्र बनाउने रहेको बताइएको छ । यसका साथै गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

ताजा समाचार